सोती हत्याकाण्डः २३ जनालाई जन्मकैदको फैसला

राष्ट्रपाटी न्युज

१९ मंसिर २०८०

कालीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित छ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सजाय सुनाएको छ ।

आज मङ्गलवार न्यायाधीश खड्कबहादुर केसीको इजलासले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

अदालतले आठ जनालाई सफाइ दिएको छ । हत्या गरिएका नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई अदालतले जातीय छुवाछूतमा दोषी ठहर गरेको छ । उनीहरूलाई दुई वर्ष कैद फैसला गरेको छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेको भन्दै जाजरकोटका नवराज विक र उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव दुई हप्तासम्मको खोजीपछि भेरी नदी किनारबाट सङ्कलन गरिएको थियो । त्यस घटनामा १२ जना घाइते भएका थिए ।

यो घटनाको मुद्दामा गएको आइतवारदेखि अन्तिम सुनुवाइ शुरु भएकोमा आज अन्तिम आदेश आएको हो । दोषीहरूलाई जातीय छुवाछूतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको पनि फैसला भएको छ ।

नवराजका बुबा मुनलालको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये किशोरीकी आमा धरौटीमा र अरू १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

 


Published :१९ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media