एमालेको संकल्प यात्रा सिन्धुलीको खुर्कोटमा

राष्ट्रपाटी न्युज

मंसिर २५, २०८०

सिन्धुली ।  झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आज सिन्धुलीको खुर्कोटमा आइपुगेको छ ।

संकल्प यात्रा सुरु भएको १३ औं दिनमा ओलीसहित शीर्ष नेतृत्व नेकपा एमालेका संस्थापक नेता सहिद ऋषिराज देवकोटा (आजाद) को जन्मभुमि खुर्कोटमा आइपुगेको हो।

यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तरगत खुर्कोटमा आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाईभर्सनको स्थलगत अवलोकन त्यसको प्रगतिबारे जानकारी लिएका छन् ।

आयोजनको प्रगतिको बारेमा सुनकोसी-मरिण बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले संक्षिप्त जानकारी गराएका थिए। उक्त आयोजनाको अटोमेटीक टनेल बोरीङ मेसीन (टिविएम) बाट १३ दशमलव ३ किलोमिटर टनेल निर्माण अन्तिम चरणमा पुगेको छ भने खुर्कोटस्थित सुनकोसी नदीमा बाँध निर्माण कार्य धमाधम भइरहेको छ।

३१.०७ मेगावाट विद्युत उत्पादनसँगै तराईका पाँच जिल्लाका १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याउने यस बहुउद्देश्यीय आयोजनाको शिलन्यास ओलीले प्रधानमन्त्री हुँदा २०७७ फागुन २० गते शिलान्यास गरेका थिए ।

यस्तै मध्यपहाडी लोकमार्गअन्तरगत पर्ने विभिन्न दश नमुना सहर मध्यको एक खुर्कोटमा निर्माण थालिएको आयोजनाको समेत अध्यक्ष ओलीले अवलोकन तथा चासो व्यक्त गरेका छन। गत आर्थिक वर्ष २०६७र६८ सालबाट स्थानियको ६ सय ६८ रोपनी जंग्गा लिएर करोडौं रुपैयाँ खर्चेर निर्माण थालिएको योजनाका कुनै पनि काम पूरा हुन नक्नुको कारणबारे आयोजना र स्थानीयसँग ओलीले छलफल समेत गरे। उक्त आयोजनाले एक दशक पूरा गर्दा समेत कुनै गति लिन भने सकेको छैन।

यात्राका क्रममा रामेछाप हुँदै खुर्कोट आइपुगेका ओलीले वरिष्ठ पत्रकार तथा शहिद संझना दाहालका पिता शेषराज दाहालको २ थान पुस्तक विमोचन समेत गरे। ओलीले राष्ट्रिय महत्वका साथ हेरिएको चियावारी-खुर्कोट सुरुङ्ग मार्ग र सिन्धुली महाभारत क्षेत्रकोकै प्रमुख नगदेबाली जुनारका समस्याहरुको बारेमा समेत जानकारी लिएका छन् ।

स्थानीयले सुरुङ मार्ग र जुनारको विषयमा ज्ञापन पत्र समेत बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै ओलीले सबै मागहरूको अध्ययन गरी देश विकास र समृद्धिको खाका बनाउने स्पष्ट पारे। उनले एमाले बाहेकको नेतृत्वबाट देशको विकास सम्भव नभएको समेत जिकिर गरे।

सिन्धुली कलाघरको विविध सांस्कृतिक कर्यक्रम प्रस्तुतिपछि खुर्कोटबाट अघि बढेको संकल्प यात्रको टोलीले सिन्धुलीकै गोलन्जोरको देउरालीटारमा नेपाल कम्युनिस्ट पार्टीको २००८ मा गठन बारे जानकारी लिनुका साथै ग्वालटारमा पुगेर सहिद बाबुराम बरालको सालिकमा माल्यार्पण गर्ने र स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालले जानकारी दिए।

यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पदाधिकारी र नेताहरुको सहभागितामा घुर्मीरहर्कपुरमा मंगलबार नै विशाल आमसभाको आयोजना गरिनेछ। नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ। उक्त अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो।

बैतडीको झुलाघाटबाट सुरु भएको लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङमा टुंगिनेछ। यो अभियान विभिन्न जिल्लामा जनतासँग भेटघाट, आमसभा गर्दै पुस २ गते १९औं दिनमा समापन हुँदैछ ।

 


Published :मंसिर २५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media