काठमाडौँ महानगरबाट सरकारलाई सकारात्मक उत्प्रेरणा मिलेको छः प्रधानमन्त्री दाहाल

राष्ट्रपाटी न्युज

मंसिर २८, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई  प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

२९औँ काठमाडौँ महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने बताए ।

नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन कानुन निर्माण पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीनमध्येको एक सांस्कृतिक सहरका रूपमा रहेको जनाउँदै उनले विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौँलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको बताए ।

पछिल्लो समय काठमाडौँ महानगरले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताएका छन् ।

राजधानी सहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको उनको भनाइ छ ।

उनले सामूहिक सहकार्यको संस्कृतिको जगमा उभिएर संघीय शासन प्रणालीको फराकिलो आधारभूमिमा विकसित काठमाडौँ सहर निर्माणको साझा लक्ष्य हासिल गर्न महानगर दिवसले सबैलाई प्रेरणा देओस् भनी कामनासमेत गरे । विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो ।


Published :मंसिर २८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media