खुल्लामञ्चमा ‘महाजात्रा’ को छायांकन

काठमाडौँ ।  तीन दिनयता खुलामञ्चमा मेला लागेको छ ।

‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा नेताको भाषा र चुनावीसभा छ । गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’ को छायांकनको लागि हो । एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायांकन भईरहेको छ । यसले त्यहिँ काम गर्नेलाई पनि रमाइलो आभाष गराएको छ ।

‘हामीले गीतसँगै दृश्य एकैपटक खिचिरहेका छौँ । हामी कहाँ प्रोपर स्टुडियो नहुँदा खुल्लामञ्चलाई नै स्टुडियो मानेर तीन विभिन्न दृश्यको छायांकन एकसाथ भईरहेको छ’,निर्देशक भट्टराईले भने । गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरिरहेका छन् भने अर्कोतर्फ मञ्चमा चाहिं क्लाइमेक्स दृश्यको छायांकन भईरहेको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो ..’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका छन् ।

एक सय बढी कोरसको प्रयोग गरिएको गीतमा फिल्मका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत लगायत पनि गीतमा देखिन्छन् ।प्रचारप्रसारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको निर्देशक भट्टराईले बताए । गीतमा नाच्दा नाच्दै सहज महसुश गर्न लागेको अभिनेता कार्कीले बताए ।

‘पहिला गीत भनेपछि सहजता महसुश गर्दिन थिएँ । तर, अहिले बानि परिसकेको छ । किनकि नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने । यद्यपि उनले दृश्यको तुलनामा गीतमा असहजता नहुने तथ्यलाई अस्विकार गरेनन् ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले गीतको छायांकन सकिएसँगै इन्ड-कल्याप हुने जानकारी दिए । ‘हामी बुधवार साँझ छायांकन सकाउछौं । हामीले तय गरेको तालिका अनुसार नै काम सम्पन्न गरेका छौं । अब हाम्रो तयारी प्रचारप्रसार र रिलिजमा हुनेछ’, निर्माता खत्रीले भने ।

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङखला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।

निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् यसमा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ । नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ ।

फिल्ममा अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनिका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।


Published :पुस ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media