चन्द्रागिरि कार दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो

हेटौंडा । थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमै र एब बालकको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो।

काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो। गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन्।

दुर्घटनामा काठमाडौं-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो। घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी छन्। कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। शनिबार उनीहरू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीले जनाएको छ ।


Published :पुस २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media