टिआरसी विधेयक एक हप्ताभित्रै टुंग्याउन कांग्रेसका प्रमुख सचेतक लेखकको आग्रह

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०८०

काठमाडौं । सांसदहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुंगाे लगाउन माग गरेका छन् ।

संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा प्रतिनिधिसभा बैठकमा पेस गरेर टुंगाे लगाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंगाेमा पुर्‍याउन कानुन, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरे । उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गर्दै उक्त विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गतेभित्र टुंगाे लगाई सक्नुपर्ने प्रस्ताव गरे ।

प्रमुख सचेतक लेखकले विधेयकमा भएका विषयमध्ये केही बुँदा मात्र सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्नुपर्ने भन्दै छलफलबाट टुंगाेमा नपुगे त्यसलाई संसद्ले टुंगाे लगाउने गरी पठाउनुपर्ने बताए ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुगाेमा पुर्‍याउन विषयगत छलफलका लागि कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत उपसमिति बनाउन सुझव दिए। उनले समितिको काम फराकिलो तरिकाले गर्नका लागि उपसमिति आवश्यक रहेको जनाए ।


Published :११ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media