प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक

राष्ट्रपाटी न्युज

१२ फाल्गुन २०८०

काठमाडौं । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले शुक्रबार राति निज बस्ने कोठाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

चोरी गरिएकी शिशुलाई उद्धारपछि आफन्तको जिम्मा लगाई अहिले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले बताए ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूतिगृहबाट २६ दिनको आफ्नो शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले सोही दिनदेखि खोजी सुरु गरेको थियो ।


Published :१२ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media