वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सह्य नहुने अर्थमन्त्री पुनको चेतावनी

राष्ट्रपाटी न्युज

चैत्र ३, २०८०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै उनले बैंकहरु जत्तिको व्यवस्थित रुपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको दाबी गरेका हुन्।

उनले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सह्य नहुने चेतावनी दिए ।

पुनले बैंक तथा वित्तिय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे ।

‘बैंकहरुबाट ऋण लिने, कालो सूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिंड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैंकिङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कदापि स्वीकार्य हुन सक्दैन।’

कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट गर्दै उनले आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाए।

मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने बताए।

मन्त्री पुनले व्यवस्था कार्यान्यवनका क्रममा प्रणालीभित्र भएका कमजोरीबारे समीक्षा गर्न भने तयार रहेको उल्लेख गरे।


Published :चैत्र ३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media