एमालेले दिएको खाली चेक भर्ने काम प्रधानमन्त्रीको होः उपमहासचिव ज्ञवाली

ओखलढुंगा । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देश असफल हुन नदिन विकल्प खोजिएको दाबी गरेका छन् ।

नेकपा एमालेको स्कूल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र नयाँ गठबन्धन ठिक कि प्रतिपक्षमा बसेर मिसन ८४ चलाउने भन्ने बहसपछि विकल्प रोजिएको बताएका हुन् ।

मुलुक आर्थिक र राजनीतिक हिसाबले असफल बन्ने बाटोमा गएको, वैदेशिक हस्तक्षेपले सीमा नाघेकाले एमालेले २०८४ कुर्न नसकेको बताए । एमालेको बलमा प्रधानमन्त्री बनेका प्रचण्ड केही समय कांग्रेससँग कुम जोड्न पुगे पनि राष्ट्रिय राजनीतिको मियो एमाले नै हो भन्ने निष्कर्षमा पुगेपछि नयाँ गठबन्धन बनेको ज्ञवालीको भनाई छ ।

उपमहासचिव ज्ञवालीले देश बन्छ भन्ने आत्म विश्वास टुट्न नदिन राष्ट्रिय हित विपरित बनेको गठबन्धन भत्काएर प्रगतिशिल गठबन्धन बनाएको दाबी गरे ।

उनले कार्यकर्ताहरुलाई वाम एकता भन्दै भावनामा नबग्न पनि सचेत गराए । उनले माथि धेरै टाउका जोडेर बहुमत नआउने, बहुमत ल्याउन संगठन बलियो चाहिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए ।

प्रभावशाली मन्त्रालय छाडेको प्रसंग निकाल्दै ज्ञवालीले प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्न एमालेले खाली चेक दिएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीलाई खाली चेक दिएर एमालेले सहयोग गरेको छ, भर्ने काम उहाँको हो ।’


Published :३ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media