अर्थमन्त्री राष्ट्र बैंकको प्रतिस्पर्धी होइन, मिलेर अर्थतन्त्र चलायमान बनाऔँ : वर्षमान पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)-२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउनुपर्ने बताए ।

अर्थमन्त्री पुनले राष्ट्रबैंक सञ्चालक समितिका ७ मध्ये ४ जना अर्थात बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै सरकारमा बस्नेले गर्भनरलाई आरोपित गर्न नमिल्ने स्पष्ट गरे ।

राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिव र तीन जना विज्ञलाई सञ्चालकका रूपमा पठाउने व्यवस्था छ। त्यस्तै गर्भनर र दुई डेपुटी गभर्नर सदस्य हुन्छन्। बोर्डमा बहुमत भएको सरकारका प्रतिनिधिले गभर्नरलाई आरोपित गर्नु भनेको आफ्नो अयोग्यता र अक्षमता ढाकछोप गर्नु रहेको उनको टिप्पणी थियो ।

ठूल्ठूला युद्धमा रहेका मुलुकका बीचमा समेत युद्ध रोक्न वार्ता हुने गरेको चर्चा गर्दै पुनले मुलुकको हितमा काम गर्ने उद्देश्यले अर्थमन्त्री र भर्गनरका बीचमा समस्या आए तत्काल संवादमार्फत समाधान खोज्न सकिने बताए ।

उनले हाल बजारमा पर्याप्त तरलता (लगानी योग्य रकम) भएकाले विगतमा तरलता अभाव भएका बेला ल्याइएका कठोर नीतिमा लचकता अपनाउन राष्ट्रबैंक नेतृत्वलाई आग्रहसमेत गरे ।


Published :३ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media