दीपक मनाङेद्वारा एकीकृत समाजवादी परित्याग

पोखरा । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले प्रदेश सभा सचिवालयलाई दलीय आबद्धता त्यागेको पत्र बुझाएका छन् ।

आइतबार गुरुङले स्वतन्त्र सांसदकै हैसियत कायम गरिदिन प्रदेश सभा सचिवालयलाई पत्रमार्फत आग्रह गरेका हुन् । गुरुङले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन् ।

४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा चुनाव जित्नुभएको मनाङे ले त्यसको १५ दिनपछि १९ मंसिरमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

मनाङेले कांग्रेसको सरकारलाई समर्थन गर्न सक्ने देखिएको छ । २१ फागुनमा एमाले-माओवादीसहितको गठबन्धन बनेपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनुपर्ने अवस्थामा छ ।

कांग्रेसबाट निर्वाचित पाण्डेले २२ फागुनमै माओवादी केन्द्रका मन्त्री बर्खास्त गरे । माओवादीले पनि समर्थन फिर्ता लिइसकेको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र सांसद दीपक मनाङे हुनुहुन्छ । गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ ।

यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले-माओवादीले पनि सरकार बनाउन सक्ने अवस्था छैन । नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा गुरुङको दल त्यागपछि गण्डकीको राजनीतिमा नयाँ मोड आएको छ ।


Published :४ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media