चौथो त्रि-ज्योति अन्तर कक्षागत नृत्य एवम् संगीत प्रतियोगिता सम्पन्न

बुढानीलकण्ठ।  बुढानीलकण्ठ-१२, कपन, काठमाडौमा अवस्थित त्रि-ज्योति मा.विले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको बीचमा चौथो त्रि-ज्योति अन्तर कक्षागत नृत्य एवम् संगीत प्रतियोगिता भव्य रुपमा आयोजना गरेको छ  । त्रि-ज्योति मा.वि.मा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिकाभित्र रहेको नृत्य र साङ्गीतिक प्रतिभाको वास्तविक रुपमा मूल्याङ्कन गर्ने प्रयोजनले आयोजना गरिएको उक्त कार्यक्रममा संगीततर्फ १५समूह र नृत्यतर्फ १५ समूह सहभागी थिए । बुनपा-१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यता र विद्यालयका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीको सभापतित्वमा चौथो त्रि-ज्योति अन्तर कक्षागत नृत्य/सङ्गीत कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयका प्राचार्य गणेशकुमार मिश्रले बालबालिका भोलिका सम्भावना भएकोले आजदेखि नै उक्त वातावरण तयार गरिएको कुरा बताए । ‘सिप र शिक्षाः त्रि-ज्योतिको इच्छा’ भन्ने आदर्शलाई प्रयोगात्मक रुपमा उतार्दै भोलिको सार्थक र दक्ष नागरिक निर्माणमा त्रि-ज्योतिले सङ्कल्प राखेको धारणा स्वागत् मन्तव्य राख्ने क्रममा प्राचार्य मिश्रले उल्लेख गरे । प्रमुख अतिथिको तर्फबाट बुनपा -१२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईले त्रि-ज्योतिले निजी विद्यालयको भीडमा पृथक ढङ्गले बालबालिकाको समग्र हितमा काम गरिरहेको आफुले पाएको धारणा प्रकट गरे । बुनपा-१२ मा रहेका निजी विद्यालयमध्ये  बालबालिकाको समग्र हितको लागि त्रि-ज्योतिको योगदान प्रधान रहेकोले आगामी दिनमा त्रि-ज्योतिको शैक्षिक गतिविधिलाई अरु विद्यालयमा पनि लैजानको लागि नगरपालिकाले साथ दिन र लिन  तयार रहेको  विचार प्रकट गरे ।
जुनियर र सिनियर गरी दुई तहमा गरिएको नृत्य र संगीतको मूल्याङ्कनमा नृत्यतर्फ प्रथम कक्षा-७ कोशी, द्वितीय कक्षा -६ कोशी र तृतीय कक्षा -६ मेचीले पाएका थिए भने संगीततर्फ प्रथम कक्षा-७ मेची, द्वितीय कक्षा-६ कोशी र तृतीय स्थान कक्षा -७ कोशीले प्राप्त गरे । त्यसैगरी सिनियरतर्फको नृत्यमा प्रथम कक्षा- ८ मेची, द्वितीय कक्षा-९ कोशी र तृतीय स्थान कक्षा -१० कोशीले प्राप्त गरे भने संगीत विधामा प्रथम कक्षा- ९ मेची, द्वितीय कक्षा-८ कोशी र तृतीय स्थान कक्षा -१० मेचीले हात पार्न सफल भयो ।
विभिन्न कक्षाका विजयी विद्यार्थीहरुलाई मेडल, ट्रफीद्वारा सम्मान गरिएको चौथो त्रि-ज्योति साँस्कृतिक कार्यक्रम २०८१ को सभापतिको रुपमा प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी, सञ्चालक सदस्य विष्णुहरि न्यौपाने र विद्यालयका प्राचार्य गणेशकुमार मिश्रको संयुक्त उपस्थितिमा पुरस्कृत बालबालिकाहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
चौथो त्रि-ज्योति साँस्कृतिक कार्यक्रम २०८१ को नृत्य विधाको मूल्याङ्कन कर्ताको रुपमा अर्जुन विसी र संगीत विधाको मूल्याङ्कनकर्ताको रुपमा संजीव पुडासैनीले गरेका थिए ।
दुई सत्रमा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा सभापतिको तर्फबाट धन्यवाद मन्तव्य राख्ने क्रममा विद्यालयका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले प्रतिस्पर्धामा सहभागी सबै विद्यार्थीहरुले प्रथम स्थान प्राप्त गरे सरह नै भएको धारण राखे । त्रि-ज्योति बालबालिकाको सफलताका लागि सक्रिय रहेकोले भोलिका  दिनमा पनि बालबालिका मैत्री कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास दिलाए । कार्यक्रमका सभापति ताराप्रसाद सुवेदीले यस्ता कार्यक्रमले बालप्रतिभाको उजागर गर्न मद्दत पुर्‍याएको विचार मन्तव्यका क्रममा व्यक्त गरे । बालबालिकाको नृत्य र संगितसहितको गायन उत्कृष्ट रहेको विचार राख्दै यस्तो अभ्यासले कार्यक्रममा पाल्नुभएका निर्णायकहरु जस्तै गरी भोलिका दिनमा परिचित हुन सक्ने संभावना त्रि-ज्योतिका बालबाललिकाहरुमा रहेको धारणा प्रकट गरे ।
त्रि-ज्योति मा.वि. का स्कुल कोअर्डिनेटर प्रवीन श्रेष्ठ, संगीत प्रशिक्षक पवन अधिकारी, गोपाल पहाडी, नृत्य प्रशिक्षक किसन भूषाल लगायतका क्षेत्रगत र विधागत जिम्मेवारी लिएकाहरुको सक्रिय सहभागिताबाट सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आकृति घिसिङ, सृष्टि सुनुवार र अन्जु लामाले गरेका थिए ।

Published :असार ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media