कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन

राष्ट्रपाटी न्युज

८ श्रावण २०८१

काठमाडौँ । डेमोक्रेट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेको कमला ह्यारिसलाई १९३ डेमोक्रेट सांसदको समर्थन पाएकी छन् ।

राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएपछि कमला ह्यारिस राष्ट्रपतिको दौडमा अगाडी बढेकी छन् । उनको पहिलो चुनौती डेमोक्रेट नेताहरुको समर्थन पाउनु रहेको छ । अहिले पनि कैयौं नेताहरुले उनलाई उम्मेदवारको रुपमा समर्थन गर्न हिच्किचाइरहेका छन् । यसमा सबै भन्दा ठुलो नाम पुर्व राष्ट्रपति बाराम ओबामाको रहेको छ । ओबामाले बाइडेन राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटेकोमा प्रसंशा गरेपनि ह्यारिसको समर्थन गरेका छैनन् । उनले डेमोक्रेटिक पार्टीको अगस्तमा हुने कन्म्भेन्सनमा सहि उम्मेदवार छान्ने बताएर ह्यारिसलाई समर्थन नगर्ने संकेत दिएका छन् ।

अर्कोतर्फ अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कमला ह्यारिसलाई आगामी अमेरिकी राष्ट्रपतिका लागि समर्थन गरेकी छन् । क्लिन्टन सन् २०१६ मा डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार थिइन् । त्यसपछि उनी ट्रम्पसँग हारेकी थिइन् ।

क्लिन्टनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कमला ह्यारिसलाई लामो समयदेखि चिन्छु । उनी एक प्रतिभाशाली वकिल हुन्। कमला ह्यारिसले दोषी अपराधी डोनाल्ड ट्रम्प र ‘प्रोजेक्ट २०२५’ को स्वतन्त्रता लिने एजेन्डा विरुद्ध लड्नेछिन् । तर, यो काम उनी एक्लैले गर्न सक्दैनन् ।’ हिलारीले कमला ह्यारिसलाई समर्थन गर्न देशवासीलाई अपिल गरेकी छन् ।

सीएनएनले बाइडेनको समर्थन पाए पछि ह्यारिसले आफ्नो पक्षमा समर्थन जुटाउन १० घण्टा नेताहरुसँग कुरा गरेको उल्लेख गरेको छ । यस क्रममा ह्यारिसले पूर्व राष्ट्रपति बराक ओबामा र बिल क्लिन्टनका साथै पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसँग पनि कुरा गरेको दाबि गरिएको छ ।

बाइडेनदेखि हिलारी क्लिन्टनसम्म सबैले कमला ह्यारिसको उम्मेदवारीलाई समर्थन गरे पनि, डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेदवार अझै बनेकी छैनन् । डेमोक्रेटिक पार्टीमा राष्ट्रपतिको उम्मेदवारका लागि अझै धेरै उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन करिब १०० दिन बाँकी छ तर डेमोक्र्याटिक पार्टीमा नयाँ उम्मेदवार कसरी छनोट गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै समाधान हुन सकेको छैन । अब डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सन अगस्ट १९ बाट सुरु हुँदैछ, जसमा नयाँ उम्मेदवार चयन हुने बताइएको छ ।

यस अघि उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेपछि पहिलो पटक सार्बजनिक रुपमा सम्बोधन गरेकी छन् । यसक्रममा उनले राष्ट्रपति बाइडेनको कामको प्रशंसा गर्दै बाइडेनले चार वर्षमा धेरै राष्ट्रपतिले दुई कार्यकालमा गर्न नसक्ने काम गरेको बताइन् ।

ह्यारिस पेरिस ओलम्पिक अघि ह्वाइट हाउसमा अमेरिकी खेलाडीहरूको अभिनन्दन समारोहमा आइपुगेकी थिइन्। कोभिड पोजिटिभ भएका कारण बाइडेन कार्यक्रममा उपस्थित थिएनन् ।


Published :८ श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media