रिलायन्स कलेजको कक्षा ११ का लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

१५ श्रावण २०८१

काठमाडौँ। रिलायन्स इन्टरनेसनल एकेडेमीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित भव्य कार्यक्रमका बिच संस्थाले नयाँ भर्ना भएका विद्यार्थीलाई कलेज बारे जानकारी गराएको हो ।

रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जङ्ग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलेजका बोर्ड सदस्य तथा चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटी, सहायक प्रधानाध्यापक नन्दु कुशवाह सहित नेटवर्क आबद्ध विभिन्न विद्यालयका प्रधानाध्यापकहरू उपस्थित थिए। कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरू सहित रिलायन्सका प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी तथा कक्षा १२ अध्ययनरत र कक्षा ११ भर्ना भएका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

रिलायन्स इन्टरनेसनल एकेडेमीका अङ्ग्रेजी विभाग प्रमुख तथा इसिए संयोजक गोविन्द ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।

संस्कार र संस्कृतिलाई प्राथमिकतामा राखेको रिलायन्सले स्वस्ति वाचन मार्फत कार्यक्रम सुरु गरेको थियो । नेपाल वेद विद्याश्रमका बटुकहरूले रिलायन्सका लागि सो कार्य गरेका थिए। लगत्तै दुई मिनेटको ध्यानबाट कार्यक्रममा उपस्थित सबैलाई शान्त र केन्द्रित बनाइएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रिलायन्सका सहायक -प्रधानाध्यापक नन्दु कुशवाहले सबै विद्यार्थीलाई रिलायन्सको सिकाइ संसारमा स्वागत गरे।

कार्यक्रममा कक्षा ११ पढाउने फ्याकल्टीहरूको परिचय समेत विद्यार्थीहरू माझ गराइएको थियो। त्यस्तै रिलायन्समा सक्रिय विभिन्न विद्यार्थी क्लबहरूको बारेमा पनि कार्यक्रममा जानकारी गराइएको थियो।

कक्षा १२ मा अध्ययनरत संगम कार्कीले आफू हिजो मात्रै त्यो स्वागत हुने ठाउँमा बसेको जस्तो लागेको बताइन् । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा रिलायन्समा भर्ना भएका विद्यार्थीहरूले ज्ञान र शिक्षाको नयाँ संसारमा प्रवेश गर्न लागेको उनको भनाई थियो।

कक्षा ११ का नव आगन्तुक विद्यार्थीका तर्फबाट धन्यवाद ज्ञापन गर्दै छात्रा रेबिका श्रेष्ठले आफूले थुप्रै दुबिधा पश्चात् रिलायन्स छानेको र यो छनोट जीवनकै सबैभन्दा उत्कृष्ट छनोट भएको महसुस गरिरहेको बताइन् । उनले रिलायन्सले पढाई मात्रै नभई मानवीय मूल्य देखि विभिन्न क्रियाकलापहरू समेत विद्यार्थीलाई गराउने हुँदा त्यसैले आफूलाई आकर्षित गरेको भनाई राखिन्।

कलेजका बोर्ड सदस्य तथा चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले ६५ भन्दा बढी जिल्ला र ३०० भन्दा बढी स्कुलहरू बाट कक्षा ११ भर्ना आएका सबै विद्यार्थीलाई रिलायन्समा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रम अवधिभर विद्यार्थीले प्रस्तुत गरेका गायन, नृत्य, कविता, मन्तव्य सहितका गतिविधिहरू वास्तवमै रोचक र उत्कृष्ट थिए।

कार्यक्रम समापन गर्दै सभापति थापाले २२ औँ ब्याचलाई रिलायन्स परिवारको तर्फबाट स्वागत र सही छनोट गरेकोमा धन्यवाद दिए ।

 


Published :१५ श्रावण २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media