
काठमाडौँ । नेपाल पनि मंकीपक्सको जोखिममा रहेको छ । सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको बताएको हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गत साउन २ गते एक विज्ञप्ति जारी गर्दै गएको वर्ष नेपालमा एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको छ ।
मंकीपक्सबाट जोगिन स्वास्थ्य मन्त्रालयले पूर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुसँग सुझाव लिइरहेको जनाएको छ । त्यसैको तयारी स्वरुप १११५ नम्बरको कल सेन्टर सञ्चालन गरिएको जनाएको छ । हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु सञ्चालन गर्नेबारे तीनै तहका निकायलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भइसकेको छ ।
मंकीपक्सका लक्षण र जोगिने उपाय
मंकीपक्स संक्रमणबाट पहिला अनुहारमा बिमिरा देखिन्छ । त्यसपछि विस्तारै शरीरका विभिन्न भागहरू टाउको, हत्केला र पैतालामा फैलिन्छ । ज्वरो आउने, टाउको दुख्ने,
शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकान महसुस हुने, जिउ सुन्निने, ढाड, टाउको र मांसपेशी दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । संक्रमणको जोखिम विशेषगरी बालबालिकाहरूमा बढी देखापर्ने बताइएको छ ।
संक्रमित बाँदर, मुसा लोखर्के जस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ । ती जनावरहरूको शरीरबाट निस्किएका थुकका छिटा, र्याल, तरल पदार्थ आदिबाट मंकीपक्स सर्ने सम्भावना बढी रहन्छ । मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख र आँखामा भाइरस परे यो रोग सर्छ । त्यस्तै, संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ ।
त्यसैले यस रोगबाट जोगिन विदेशबाट आउने नेपाली र विदेशी नागरिकले कम्तीमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
