बालउद्धारमा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना (फोटोसहित)

काठमाडौँ । बालउद्धार माध्यमिक विद्यालयले तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा विद्यालयले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

भदौ २० गते बिहीबार आयोजना गरिएको सो कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले तीजका रमाइला गीतहरुमा आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।

यसका साथै विद्‍यालयका शिक्षिकाहरु शोभा गिरी, रमलादेवी शर्मा, रिता भण्डारी, प्रतीक्षा कार्की, रञ्जु आचार्य, एलिना बस्नेत र सविना राजभण्डारीले ‘तीजको लहर आयो बरि लै’ बोलको रिमिक्स गीतमा गरेको नृत्यले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएको थियो ।

कक्षा नर्सरीदेखि १२ सम्म अध्ययन अध्यापन हुँदै आएको बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको विद्यालयले हरेक चाडपर्व र अवसरहरुमा विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै तीजको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितको अध्यक्षतामा सम्पन्न सो तीज विशेष सांस्कृतिक कार्यक्रममा सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाल, परीक्षा प्रमुख वामदेव भट्ट, अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी, निमावि तह इन्चार्ज नगेन्द्र खरेल, बालविकास तह इन्चार्ज रमलादेवी शर्मा लगायतका शिक्षकशिक्षिका, कर्मचारी र विद्यार्थीको खचाखच उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कक्षा १० र ९ को सेक्सन ए का छात्राहरु क्रमशः तृष्णा अधिकारी र प्रीति ढुङ्गेलले गरेका थिए ।

साथै तीजको पूर्व सन्ध्यामा विद्यालयका सम्पूर्ण शिक्षकशिक्षिकाहरुलाई दर कार्यक्रमको समेत आयोजना गरेको विद्यालयले जनाएको छ । तीज पर्व भोलि भदौ २१ गते शुक्रबार परेको छ ।

 


Published :भदौ २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media