पाकिस्तानको दुई आदिवासी समुदायबीच झडप हुँदा १५ जनाको मृत्यु

काठमाडौँ । उत्तर पश्चिमी पाकिस्तानमा दुई आदिवासी जनजातिबीच भूमी सम्बन्धी विवादमा भएको झडपमा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको सीमा नजिकैको कुर्रम जिल्लामा मोर्टारसहितका भारी हतियारका साथ दुई समुदायबीच झडप भएको हो। गत जुलाईमा पनि कुर्रम जिल्लमा दुई समुदायबीच झडप भएको थियो।

‘भूमी सम्बन्धी विवादमा सुरु भएको सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिबीचको द्वन्द्व हाल साम्प्रदायिक झडपमा परिणत भएको छ’, कुर्रममा तैनाथ एक वरिष्ठ प्रशासनिक अधिकारीले बताए।

शनिबारदेखि भएको झडपमा १५ जनाको मृत्यु भएको उनले बताए।

आधिकारिक समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस अफ पाकिस्तान’ले झडपमा करिब २० जना घाइते भएको जनाएको छ।

पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा सुन्नी र शिया सम्प्रदायका जनजातिबीच लामो समयदेखी विवाद कायम रहेको छ। जुलाईमा उनीहरुबीच भएको पछिल्लो झडपमा ३५ जनाको मृत्यु भएको थियो।

मुख्यतया सुन्नी मुस्लिम बाहुल्य पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोगेको आरोप लगाएका छन्। (एपी/रासस)


Published :अशोज ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media