गाजाका एक लाख ५० हजार बढी बालबालिकालाई पोलियो खोपको दोस्रो डोज

राष्ट्रपाटी न्युज

१ कार्तिक २०८१

जेनेभा । गाजाका एक लाख ५० हजारभन्दा बढी बालबालिकाले दोस्रो चरणको अभियानको पहिलो दुई दिनमा मौखिक पोलियो खोपको आवश्यक दोस्रो डोज प्राप्त गरेका छन् ।

प्यालेस्टिनी क्षेत्रका केही भागमा इजरायली सैन्य कारबाही जारी राखे पनि १० वर्षमुनिका पाँच लाख ९० हजारभन्दा बढी बालबालिकाका लागि पोलियो खोप अभियानको दोस्रो चरण सोमबार सुरु भएको छ ।

मध्य गाजामा पोलियो खोपको दोस्रो डोज पाएका बालबालिकाको कूल सङ्ख्या एक लाख ५६ हजार नौ सय ४३ रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिनुभयो ।

सोही क्रममा एक लाख २८ हजार एक सय २१ बालबालिकालाई भिटामिन ए खुवाइएको थियो । “हामी मानवीय युद्धविरामको निरन्तर सम्मानका लागि आह्वान गर्दछौँ । हामी युद्धविराम र शान्तिका लागि आह्वान गर्छौं,” गेब्रेयससले भन्नुभयो ।

गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो मामिला पुष्टि भएपछि खोप अभियान सुरु भएको हो ।

डब्लुएचओका प्रवक्ता तारिक जसरेभिकले मङ्गलबार पत्रकारहरूलाई भन्नुभयो, “सोमबार पहिलो दिन मध्य गाजामा करिब ९३ हजार डोज दिइएको थियो ।” (रासस/एएफपी)


Published :१ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media