तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ

राष्ट्रपाटी न्युज

कार्तिक १५, २०८१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन् ।

उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको बताए । उनले सकेसम्म तिहारमा विद्युत पुर्‍याएर निर्यात समेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको बताए । उनले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले अहिले पनि २१ सय मेगावट विद्युत उत्पादन भए पनि घटेर १९ सयमा झरेको बताए । उनले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताए ।

घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए । २०७३ सालको तिहारमा लोडसेडिङ बिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ ।


Published :कार्तिक १५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media