रुसद्वारा युक्रेनमाथि ऊर्जा पूर्वाधारलक्षित भीषण आक्रमण

किएभ । रुसले आइतबार युक्रेनमाथि ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गरेको थियो भने नागरिकहरूको ज्यानसमेत लिएको थियो । आक्रमणलाई अधिकारीहरूले पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो भनी वर्णन गरेका छन् ।

जाडोअघि मस्कोले युक्रेनको विद्युत् उत्पादन क्षमतालाई तहसनहस पार्ने मनसाय राखेको बारे चिन्ता बढिरहेको बेला यो आक्रमण भएको हो ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार रुसले युक्रेनभर ठूलो मात्रामा कूल एक सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रक्षेपण गरेको छ । उनले विभिन्न प्रकारका ड्रोनहरू प्रयोग गरिएको र यसमा इरान–निर्मित शाहेदहरूका साथै क्रुज, ब्यालिस्टिक र विमान–प्रक्षेपित ब्यालिस्टिक क्षेप्यास्त्रहरू समावेश रहेको जानकारी दिए ।

युक्रेनी रक्षाले एक सय ४० वटा हवाई लक्ष्य खसाएको जेलेन्स्कीले टेलिग्राम मेसेजिङ एपमा एक विज्ञप्तिमा बताए । “शत्रुको लक्ष्य युक्रेनभरि हाम्रो ऊर्जा पूर्वाधार थियो । दुर्भाग्यवश, आक्रमण र खसेका भग्नावशेषबाट वस्तुहरूमा क्षति पुगेको छ । माइकोलाइभमा ड्रोन आक्रमणबाट दुई व्यक्तिको मृत्यु भयो र दुई बालबालिकासहित अन्य छ जना घाइते भएका छन्”, उनले भने ।

स्थानीय गभर्नर ओलेह किपरका अनुसार ओडेसा क्षेत्रमा अन्य दुई जनाको मृत्यु भएको छ । त्यहाँ आक्रमणले ऊर्जाको पूर्वाधारमा क्षति पु¥याएको छ र बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ ।

किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख सेरही पोप्कोका अनुसार संयुक्त ड्रोन र क्षेप्यास्त्र आक्रमण तीन महिनामा भएको सबैभन्दा शक्तिशाली थियो ।

सन् २०२२ फेब्रुअरीमा मस्कोले आफ्नो छिमेकीमाथि पूर्ण आक्रमण गरेदेखि रुसी आक्रमणले युक्रेनको विद्युत् पूर्वाधारमा प्रहार गरिरहँदा बारम्बार आपत्कालीन विद्युत् बन्द र देशव्यापी रोलिङ ब्ल्याकआउट निम्त्याएको छ । युक्रेनी अधिकारीहरूले नियमित रूपमा पश्चिमी सहयोगीहरूलाई आक्रमणको सामना गर्न र मर्मतका लागि देशको हवाई सुरक्षा बलियो बनाउन आग्रह गरेका छन् ।

स्थानीय रिपोर्टका अनुसार आइतबार युक्रेनको राजधानी किएभ, ओडिसाको प्रमुख दक्षिणी बन्दरगाहका साथै देशको पश्चिम र मध्य क्षेत्रहरूमा विस्फोटको आवाज सुनिएको थियो ।

पोल्यान्डको सशस्त्र बलको परिचालन कमान्डले एक्समा लेखेको छ, “छिमेकी युक्रेनमा ‘विशाल’ रूसी आक्रमणका कारण लडाकू जेटहरूसहित पोल्यान्ड र सम्बद्ध विमानहरू पोल्यान्डको हवाई क्षेत्रमा परिचालन गरिएको छ ।” पोल्यान्डको सीमावर्ती क्षेत्रमा सुरक्षा प्रदान गर्ने उद्देश्यले यी कदमहरू चालिएको कमान्डले बताएको छ ।

पोप्कोका अनुसार किएभको ऐतिहासिक केन्द्रमा एउटा पाँच तले आवासीय भवनको छतमा आगलागी भएपछि एक जना घाइते भएका छन् ।

निजी ऊर्जा कम्पनी डिटिइकेद्वाराद्वारा सञ्चालित एक थर्मल पावर प्लान्ट ‘गम्भीर रूपमा क्षतिग्रस्त’ भएको कम्पनीले जनाएको छ । (रासस/एपी)


Published :२ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media