बिपी राजमार्ग दैनिक सात घण्टा बन्द

काठमाडौँ । बिपी राजमार्गमा बुधबार राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुन थालेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको भन्दै सडक राति सात घण्टा बन्द गर्न थालेको हो।

राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला)देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ। अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको हो।

यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ। सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो।

सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउनसक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो । असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन्।


Published :६ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media