चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८१

बेइजिङ । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयासस्वरुप फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन्।

पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छुट प्राप्त गरेका बताए।

मन्त्रालयले सन् २०२३ डिसेम्बर–१ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका साधारण पासपोर्टधारीको लागि एकपक्षीय भिसामुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो।

यस नीतिअन्तर्गत योग्य व्यक्तिहरूले व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्ने छन्।

चीनले आफ्ना दूतावासमा भिसा आवेदनअघि अपोइन्टमेन्टको आवश्यकतालाई रद्द गर्दै फिंगरप्रिन्ट सङ्कलनको छुट विस्तार गरी भिसा शुल्क २५ प्रतिशतले घटाएको टोङले बताए।

सन् २०२४ को तेस्रो त्रैमासिकमा, चीनमा विदेशीद्वारा गरिएको ८.१९ मिलियन यात्राहरू रेकर्ड गरेको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४८.८ प्रतिशतले बढी हो। अधिकारीका अनुसार तीमध्ये ४.८९ मिलियन भिसामुक्त व्यवस्थामार्फत आएका थिए।

मन्त्रालयले विशेष गरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरूका लागि सीमापार यात्रालाई सहज बनाउन भिसामुक्त प्रवेश नीतिलाई परिष्कृत गरी जारी राख्ने टोङले उल्लेख गरेका छन्। (रासस/सिन्ह्वा)


Published :मंसिर ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media