सर्वोच्चको बोर्डमा कालोमसी छ्याप्ने बिनु पक्राउ

राष्ट्रपाटी न्युज

मंसिर ११, २०८१

काठमाडौँ । सर्वोच्च अदालतको बोर्डमा कालोमसी छ्याप्ने विनु यादवले प्रहरीले नियन्त्रणमा लिएको छ । घरेलु हिंसामा परेको भन्दै मुद्दा लडिरहेकी मंगलबार बिहान साढे ११ बजे गेट नजिकै रहेको सर्वोच्चको बोर्डमा कालो मसी छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।

रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग गरेको सम्बन्ध विच्छेदको मुद्दाको फैसला सुनाएपछि यसअघि अदालत परिसरमै उनले विष सेवन गरेकी थिइन् ।

बिनुले प्रदीपका काका व्यवसायी पवन कठायतविरुद्ध गत बैशाख ७ गते बलात्कारको प्रयास गरेको भन्दै जिल्ला अदालत रामेछापमा पनि मुद्दा दायर गरेकी छन् । जिल्ला अदालत रामेछापले कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रदीपसँग प्रेम सम्बन्धपछि विवाह गरेकी उनले आफूमाथि घरेलु हिंसा भएको दावी गर्दै आएकी छिन् । जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको उनको आरोप छ । उनको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र महेश शर्मा पौडेलको इजलासमा छ ।

यसअघि यादव आमरण अनशन पनि बसेपछि सरकारसँग उनले दिएको मुद्दामा आवश्यक कारवाही अगाडि बढाउने, जिवीकोपार्जनका लागि सहयोग गर्नेलगायतका पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० जेठमा जुस पिलाएर अनशन तोडाएका थिए ।


Published :मंसिर ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media