वैदेशिक रोजगारीको नाममा १७ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

राष्ट्रपाटी न्युज

मंसिर १२, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकनवानपुर बकैया गाउँपालिका–५ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई हाल टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनीषा कुमारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो।’

यसैगरी पक्राउ परेकामध्ये बलले एकजनालाई क्रोएसिया पठाउने भन्दै रु १५ लाख तथा मनिषाले एकजनालाई दुवई पठाउने भन्दै रु दुई लाख ४५ हजार रकम लिएको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

दुवै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।


Published :मंसिर १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media