फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

राष्ट्रपाटी न्युज

२० मंसिर २०८१

पेरिस । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्‌मा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोँलाई भेटी राजीनामा दिएका हुन् । तर, अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न उनलाई राष्ट्रपति म्याक्रोँले आग्रह गरेका छन् ।

समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका निम्ति स्थानीय समयानुसार बिहान ९ः०० बजे एलिसी प्यालेस पुगेका थिए ।

बुधबार बहुमत सांसदले वामपन्थी समूहले राखेको अविश्वासको प्रस्तावलाई समर्थन गरेका थिए । मरिन ले पेनको नेतृत्वको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो ।

प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनविनै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेका थिए । त्यसपछि विपक्षी चरम दक्षिणपन्थी दल नेसनल र्‍याली र वामपन्थी दल न्यु पपुलर फ्रन्टले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।

राष्ट्रपति म्याक्रोँले स्थानीय समयानुसार राति ८ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । (रासस/एएफपी)


Published :२० मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media