रवि लामिछाने थप ४ दिन हिरासतमै रहने

राष्ट्रपाटी न्युज

२३ मंसिर २०८१

पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

सरकारी वकिल कार्यालय कास्कीले १३ दिनको म्याद मागेको भएपनि अदालतले ४ दिन म्याद थपिदिएको हो ।

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।

सुरुमा उनी माथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएकोमा पछि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

लामिछाने माथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानोपाइला सहकारीको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।

त्यस्तै जिल्ला अदालत कास्कीले लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई उच्च रक्तचापको समस्या रहेकोले स्वास्थोपचारका लागि आदेश दिएको छ । अदालतले भनेको छ, ‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु ।’


Published :२३ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media