स्वास्थ्य मन्त्रालयको हेल्लो हेल्थ सेवा

राष्ट्रपाटी न्युज

२४ मंसिर २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । मन्त्री पौडेलले भने, ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौँ, तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।’ अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरू टेलिफोन, हृवाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्ने छन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सकिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

त्यसैगरी भाइबर र हृवाट्सएपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत् पठाउन सकिने व्यवस्था पनि मन्त्रालयले मिलाएको छ । इमेलमार्फत् हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपीमा गुनासा पठाउन सकिने छ । मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डाक्टर अनुप बाँस्तोलाको संयोजकत्वमा गत मंसिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेका थिए । सोही एकाइले हेल्लो हेल्थ एकाइका लागि आवश्यक तयारी गरेर सेवा आरम्भ गरेको हो । मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य रहेका छन् ।

यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अन्य माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।


Published :२४ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media