काठमाडौं । आज (सोमबार) नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किशुनजी)को १०१औँ जन्मजयन्ती हो । कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ आज सन्तनेता किशुनजीको स्मरण गर्दै छन् ।
विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छातामात्र लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।
विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन् । प्रधानमन्त्री भएका बेला काठमाडौंमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेका थिए । जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुगेका थिए ।
उनी किसुनजीलाई आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झिन्छन् । तत्कालीन सरकारले तयार पारेको कागजातमा हस्ताक्षर गरेर बीपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बसेको उनको स्मृतिमा ताजै छ । सन्तनेताको निष्ठाको राजनीति र चट्टानी अडान उनी सधैँ सम्झन्छन् र त्यसको मुक्तकण्ठले प्रशंसा गर्छन् ।
‘किसुनजी राजनीतिमा रहेर आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्नुहुन्थ्यो, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उहाँ सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा समेत स्थापित हुनुभएको छ, अडानमै रहेर उहाँ भारत प्रवासमा पनि जानुभएन, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गर्नुभयो, त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो,’ आनन्द अरुणले भने । अहिंसावादी नेताका रुपमा चिनिने महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा परिचित भएको उनको बुझाइ छ ।
किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा गतवर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देशको विकासमा उनले गरेको योगदानको प्रचार थालेका छन् ।
‘किसुनजी आफैँले स्थापना गर्नुभएको पार्टी आफैँ आँसु झारेर किन छोडेर हिँड्नुभयो ? यसको खोजी गरेपछि नै उहाँप्रति सच्चा सम्मान हुनेछ, उहाँले पार्टी छोड्नुभयो, आदर्श छोड्नुभएन, उहाँप्रतिको सम्मानका लागि केन्द्र स्थापना गरिएको हो,’ अध्यक्ष ढकालले भने ।
प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा किसुनजीसँगसँगै भई सक्रिय रहँदै आएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल पद र पैसाका लागि लोभ नभएको राजनीतिज्ञका रुपमा आफूले चिनेको उनी बताउँछन् ।
राजतन्त्रबारे भने भट्टराईको छुट्टै मत रहेको थियो। २०६३ मा दोस्रो जनआन्दोलन सफल भएपछि कांग्रेस आफूलाई राजतन्त्र निरपेक्ष पार्टीको रुपमा उभ्यायो । यसपछि गणतन्त्रमा जाने निर्णय गर्यो । यसबाट असन्तुष्ट भएका भट्टराईले आफू संस्थापक रहेको पार्टी कांग्रेस नै परित्याग गरेका थिए । सन्तनेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।