जीबी राईको राहदानी रद्द गर्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगीको आरोपमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न अनुमति दिएको हो ।

जीबीको राहदानी रद्द गर्नुपर्ने मागसहितको रिटमा शुक्रबार न्यायाधीश बेलबासेले अन्तरिम आदेश दिँदै माग बमोजिम हुने आदेश दिएका हुन् ।

अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश फरार रहेका नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी गरी पाँच वटा सहकारी ठगीमा उनीमाथि उजुरी छ ।

यसअघि नै प्रहरीले राहदानी रोक्का गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो। तर अदालतले अनुमति दिएको थिएन। अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार गरेको थियो।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यावसायिक साझेदारसमेत रहेका जीबी मलेसियामा रहेको अनुमान गरिएको छ ।


Published :माघ ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media