पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने

काठमाडौं । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् ।

पुराण सुनेरै दुराचार, भ्रष्टाचारआदि अपराधबाट आफूलाई जोगाउने गरेको कथावाचक एवं हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय बताउँछन् । पुराण सुनेरै मानिस सदाचारतिर लाग्ने गरेको उनको अनुभव छ ।

पुराणका कथावाचनलाई आम्दानीको माध्यमका रुपमा मात्र हेरेर व्यवसायीकरण गर्दै अशास्त्रीय कार्यलाई पनि शास्त्र हो भन्दै अयोग्य व्यक्ति पनि आफूलाई तडकभडकको आधारमा प्रवक्ता बनेर हिँड्ने क्रम बढेकाले कथावाचकलाई प्रमाण पत्र दिने व्यवस्था गर्न लागिएको अध्यक्ष उपाध्यायले बताए ।

कथावाचन गर्ने व्यक्तिको योग्यताको विद्वत्वर्गले जाँच गरेर प्रमाणपत्र दिँदा अझै राम्रो हुने भएकैले यसो गर्न लागिएको हो ।

यसको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चांग निर्णायक विकास समितिले गर्नेछ ।

विसं २०७७ मा मन्त्रिपरिषद्ले पारित गरेको समितिको गठन आदेशमा पनि कथा व्यासलगायत धार्मिक क्षेत्रको काम हेर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ ।

समितिलाई सघाउन धर्म, संस्कृतिका क्षेत्रमा खुलेका धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक संस्थाले सहयोग गर्न लागेको पनि उपाध्यायले जानकारी दिए ।


Published :माघ ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media