यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै कणाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यस बाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई  सतर्कता अपनाउन अनुरोध गरेको छ ।


Published :१० माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media