लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिवलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङले पोखरेलसँग धरौटी माग गरेका हुन् । गत २५ पुसमा पोखरेल पक्राउ परेका थिए ।

पोखरेल बिहीबार नै धरौटी बापतको रकम बुझाएर थुनामुक्त भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

पोखरेलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार मुद्दा दायर गरेको थियो । ठगी आरोपमा पक्राउ परेका पोखरेलविरुद्ध ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैया जरिवाना मागदाबी गरिएको थियो ।

अनिलविरुद्ध पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

सो प्रकरण सार्वजनिक भएलगत्तै सभापति पोखरेलले अनिललाई आफ्नो स्वकीय सचिवबाट बर्खास्त गरेका थिए ।

सहकारी ठगी प्रकरणमा मुछिएकी सभापति पोखरेलकी श्रीमती अञ्जला पनि यसअघि सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेकी थिइन् ।


Published :माघ १०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media