सर्वोच्चद्वारा केबलकार निर्माणविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् ।

आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । सर्वोच्च अदालत नियमावलीको नियम १८(२)मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ’ भन्ने व्यवस्थालाई आधार देखाई निवेदन दरपीठ भएको हो ।

किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको भनी सर्वोच्च अदालतले नयाँ निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

दरपीठ आदेशमा चारवर्ष पुरानो रिटनिवेदन ३० माघ (बुधबार)मा पेशीमा चढेको उल्लेख छ ।

आदिवासी कानून व्यवसायी संघले केबलकार निर्माण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको थियो ।


Published :२९ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media