काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताएका छन् । लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।
भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिकस्थलहरूले लुम्विनी प्रदेशलाई विशेष बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी तोक्ने निर्णय सफलतापूर्वक कार्यान्वयनमा आएको बताए ।
संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको वताउँदै प्रधानमन्त्री ओलीले हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकका रूपमा व्याख्या गर्नुपर्ने बताए ।
त्यस्तै सिद्धबाबा सुरूङ मार्गलगायत योजनाहरूले यातायात सहज बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको बताए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने ‘यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन ।’
सिँचाइ आयोजना सफल बनाउँदै कृषि क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १ हाजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरू गरेकामा प्रशंसा गरेका छन् । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।
प्रधानमन्त्री ओलीले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीलाई पार गर्न तीनै तहका सरकारहरूबिच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने – ‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं ।’
प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने बताउँदै तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अघि बढाएर नेपाललाई नेपाली आफैँ बनाउनुपर्नेमा जोड दिएका छन् ।
“चालिस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मिहिनेतले सम्पन्न भई सकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ । कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरू स्थापनाका लगानी विस्तार गर्नुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’’