काठमाडौं । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन् । फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुले मलद्वारमा सुन लुकाएर ल्याएको फेला पारेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरका अनुसार चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा थप शंकास्पद देखिएपछि केएमसी अस्पताल लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको पाइयो ।
४ जनामध्ये एक जना पुरूषको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहको भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् । उनीहरु गौशाला प्रहरी हिरासतमा राखिएको छ ।