काठमाडौँ । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। उनी सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन ।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो ।
८४ वर्षकी श्रेष्ठको महराजगन्जस्थित प्रहरी अस्पतालमा निधन भउको पाण्डेले जानकारी दिएका छन् । श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
ललितपुरको महर्जन परिवारमा जन्मिएकी उनको काठमाडौँका शंकरमान श्रेष्ठसँग प्रेम विवाह भएको थियो ।
२०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेकी शारदा भूमिसुधार अदालत, कास्की र लमजुङका लागि नियुक्ति लिएर नेपालको पहिलो महिला न्यायाधीश भएकी थिइन् ।
निरन्तर ४ दशक न्यायाधीशका रूपमा काम गरेकी शारदा जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी थिइन् ।
उनी नेपालको न्यायालयमा पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । २०६५ जेठ २० मा सर्वोच्चबाट बिदा भएकी थिइन् ।