काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेका छन् । उनीहरूको वास्तविक पहिचान भने थाहा छैन । यी नाम पनि संस्थाले राखेको हो ।
आज बिहान ३ः४० मा अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा उक्त घटना भएको साँखु प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक मेलम्ची–१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
उक्त अनाथालय युबराज थापाले संचालन गरेका हुन् । द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा जम्मा ६१ जना बस्दै आएका थिए । टिपरले छिरेको कोठामा १० जना सुतिरहेका थिए ।