बुढानीलकण्ठ नगरपालिले SEE मा ४ GPA ल्याउने विद्यार्थीलाई १ लाख र विद्यालयलाई ५ लाख दिने

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०८१

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिकाले एस.ई.ई. मा ४ जि.पि.ए. हाँसिल गर्ने विद्यार्थीलाई नगद रु. १ लाख र विद्यालयलाई नगद रु. ५ लाखले सम्मान गर्ने घोषणा गरेका छन्। बुढानीलकण्ठ नगरपालिकाका मेयर तथा उपमेयरले एस.ई.ई. (माध्यमिक शिक्षा परीक्षा) को तयारीमा रहेका विद्यार्थीहरूसँग भेटघाट गर्दै उनीहरूलाई हौसला प्रदान गर्ने एक कार्यक्रममा बोल्दै उनले यो घोषणा गरेका हुन्।

शिक्षा महाशाखाको समन्वयमा मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले नगरपालिका क्षेत्रभित्रका विभिन्न सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीहरूलाई ऊर्जा र प्रेरणा दिएका हुन्।

मेयर मिठाराम अधिकारीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, “तपाईंहरू जीवनको एक महत्वपूर्ण मोडमा हुनुहुन्छ। यो परीक्षा मात्रै होइन, यसले तपाईंहरूको भविष्यको मार्ग प्रशस्त गर्छ। म तपाईंहरू सबैलाई सफलता प्राप्त गर्न शुभकामना दिन चाहन्छु। मेहनत र लगनशीलता नै सफलताको कुञ्जी हो।”

त्यसैगरी, उपमेयर अनिता लामाले पनि विद्यार्थीहरूसँग संवाद गर्दै भनिन् – “यो परीक्षा तपाईंहरूको क्षमता परीक्षण गर्ने एउटा अवसर हो। डराउनु पर्ने कुनै कारण छैन। तयारी राम्रोसंग गर्नुहोस् र आत्मविश्वासका साथ परिक्षा दिनुहोस्। बुढानीलकण्ठ नगरपालिका सदैव तपाईंहरूको साथमा छ।”

 


Published :२८ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media