पहाडी तथा हिमाली जिल्लाहरूमा आज होली पर्व मनाइँदै

राष्ट्रपाटी न्युज

२९ फाल्गुन २०८१

काठमाडौं । रङहरूको पर्व होली अर्थात् फागु पर्व आज (बिहीबार) धुमधामका साथ मनाइँदै छ । आज पहाडी तथा हिमाली जिल्लाहरूमा भव्यताका साथ होली पर्व मनाइँदै छ भने तराईका जिल्लामा शुक्रबार होली मनाइँदै छ । शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र पानी खेली मनाउने परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा अभद्र रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । नेपालका सबै जातजातिले मनाउने होली पर्व पहिलो दिन पहाडी भेगमा मनाउने गरिन्छ भने दोस्रो दिन तराईका क्षेत्रहरूमा मनाइने चलन छ । त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान् भक्त प्रहृलादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान् विष्णुको प्रतापले प्रहृलादलाई आगोले केही नगरे पनि आगोले नजल्ने वरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किंवदन्ती होली पर्वसँग जोडिएको छ ।

हिन्दूहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रंगहरूको टीका लगाई मनाउने गरिन्छ । यो पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागु पूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् बताउँछन् । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि चीर विशेष रूपले सजाएको लिंगो गाडेपछि फागु सुरु भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । यस्तै, फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग (लग)लाई टोलटोलमा पसलैपिच्छे घुमाएर पूजा गरी पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ ।

फागुमा प्रयोग गरिने रङको आ-आफ्नै महत्वरहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । फागु पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, दलका प्रमुख नेतासहित विभिन्न नेताहरूले शुभकामना दिएका छन् ।

मर्यादित र सभ्य भएर मनाउन अनुरोध
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृंखल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ । ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जानसक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न-नगराउन सबैमा अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुनेगरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले मनाउन सहायक प्रजिअ पौडेलले अनुरोध गर्नुभएको छ । यस्तै, ललितपुर र भक्तपुर प्रशासनले पनि छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन् ।


Published :२९ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media