बिस्केट जात्राको भैरवको रथ वंशगोपाल पु-याइयो

राष्ट्रपाटी न्युज

चैत्र २९, २०८१

भक्तपुर । ८ रात ९ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको रथ वंशगोपाल पुर्‍याइएको छ ।

बिहीबार अपराह्न करिब ४ बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न शुरू भएको भैरवको रथलाई तल तर्फ गहिटी, नासमना, वंशगोपाललगायत क्षेत्रमा पुर्‍याएर अड्किएपछि पुनः स्थानीयले रथलाई तानेर राति ११ बजे फर्काएर वंशगोपल ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

बिहीबार दिउँसो १ बजेसम्म गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेर त्यसपछि अन्य समुदायको पूजा सकेर भैरवको रथ तान्न शुरू गरिएको थियो । तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा शुरू भएको थियो ।

रथलाई बिहीबार राति ११ बजेसम्म तल्लो र माथिल्लो क्षेत्रका सरोकारवाला निकायले तानिरहेको थिए । जात्रा शान्तिपूर्ण रूपमा चलेको प्रहरी परिसर प्रमुख बुढाथोकीले जानकारी दिए । जात्रा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाउने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्नेगरी तयारी गरिएको उनले बताए ।

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकता अनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको उनले बताए । जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए ।


Published :चैत्र २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media