आजदेखि नयाँ वर्ष २०८२ सुरु, सार्वजनिक बिदा

राष्ट्रपाटी न्युज

बैशाख १, २०८२

काठमाडौं । आज विक्रम सम्वत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपाल र विदेशमा रहेका नेपालीहरूले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भलाई भनिन्छ । नेपाललगायत विक्रम सम्बत् मान्ने स्थानहरूमा वैशाख १ गतेका दिन र इस्वी सम्बत् मान्ने स्थानहरूमा जनवरी १ तारिखका दिन नयाँ वर्ष मनाइन्छ । हामीकहाँ विभिन्न जात जातिका आ-आफ्नै नयाँ वर्ष रहेका छन् । यस दिनमा प्रचलित परम्पराअनुसार विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ ।

सरकारले नयाँ वर्षको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको संकल्प गर्दछन् ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवी देवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने प्रचलन रही आएको छ । यसदिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ ।

नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्य मन्त्रीहरू, विभिन्न दलका प्रमुखहरू, नेताहरू, विभिन्न विशिष्ट व्यक्ति तथा व्यक्तित्वहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नव वर्ष २०८२ को शुभ उपलक्ष्यमा देश विदेशमा रहनुहुने सबैमा हाम्रो पनि हार्दिक मंगलमय शुभकामना ।


Published :बैशाख १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media