प्रधानमन्त्री ओलीद्वारा नेपाली मूलका कलाकारको प्रतिभाको सराहना

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृंखला– २ का प्रतियोगीहरूले आज भेटघाट गरेका छन् ।

विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उनीहरूको प्रतिभाको सराहना गरे ।

इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृंखलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए । विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरूमा रहने ‘जेनेटिक मेमोरी’ले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनले बताए ।

कार्यक्रममा नेपाल, भुटान, भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्यान्डलगायत मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।


Published :बैशाख ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media