लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ दुर्घटना हुँदा ३६ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख ११, २०८२

दाङ । लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ वटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।

फागुनमा भन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छ भने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ ।

बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छ भने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए । साथै दुर्घटनाबाट ७४५ जना घाइते भएका छन् ।

दुर्घटना हुनेमा सबै भन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् ।

सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।


Published :बैशाख ११, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media