सुदूरपश्चिमको मानव विकास सूचकांकमा सुधार हुनेगरी बजेट बनाउनुपर्छ : परराष्ट्रमन्त्री राणा

राष्ट्रपाटी न्युज

बैशाख १३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्। सुदूरपश्चिम प्रदेश, नीति तथा योजना आयोगद्वारा आइतबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रियामा उनले यस्तो बताएकी हुन्।

सुदूरपश्चिम प्रदेशमा अहिले पनि मानव विकास सूचकांकमा निकै तल छ। ‘प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश धेरै तल छ, मलाई लाग्छ हाल छैठौँ स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउने गरी हामीले आगामी योजना, कार्यक्रमहरू निर्माण र त्यसैबमोजिम बजेटको व्यवस्था गर्नुपर्दछ’ परराष्ट्रमन्त्री राणाले भनिन्।

उनले कनिका छरेजसरी अनेक शीर्षकमा बजेट छुट्याउनेभन्दा पनि कुन समुदायलाई प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्छ त्यसलाई ध्यान दिनुपर्ने बताएकी छन्। विश्लेषणसहित ठोस् योजना तथा कार्यक्रम तय र तिनलाई तोकिएको समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउनुपर्ने सुझाव उनको छ।

मन्त्री डा. राणाले कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिइन्। कृषिजन्य उत्पादनलाई व्यावसायिक तथा आधुनिक बनाउँदै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने उनको धारणा छ।

सुदूरपश्चिममा पनि देशका अरु भू-भागमा जस्तै बसाइँसराइले जमिन बाँझो छोड्ने प्रवृत्ति बढेको छ। हाल खेतीयोग्य जमिन के कति छ भन्ने यकिन गरेर उक्त जमिनमा आधुनिक र व्यावसायिक खेतीका लागि योजना बनाउनुपर्नेसमेत उनको भनाइ छ।

सुदूरपश्चिम क्षेत्र धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका क्षेत्रमा निकै समृद्ध छन्। तीनलाई पर्यटन प्रबर्द्धन गर्न ‘हस्पिटालिटी’लगायतका पर्यटकीय पूर्वाधार निर्माणका क्षेत्रमा प्रभावकारी योजना र बजेटका लागि आफूले पहल गर्ने प्रतिबद्धता मन्त्री डा. राणाले व्यक्त गरेकी छन्।

जसका लागि आफैँले पनि स्थानीयस्तरमा केही गर्नुपर्ने धारणा राखेकी छन्। मन्त्री डा. राणाले सुदूरपश्चिममा यस्ता पूर्वाधारका क्षेत्रमा बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सबै सामूहिक रूपमा लाग्नुपर्नेमा जोड दिइन्। पूर्वाधार निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न सकियो भने यसबाट समग्र प्रदेश नै लाभान्वित हुन सक्ने उनको भनाइ छ।


Published :बैशाख १३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media