काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार वैदेशिक व्यापार गत वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले बढेको हो । चालु वर्षको १० महिनामा ८७.१२ प्रतिशत आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ ।
जस अनुसार देशको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ । वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा गएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा ब्यापार घाटा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
चालु वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्ष सोही अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जस अनुसार आयातमा १३.११ प्रतिशतले वृद्धि भएको छ ।
सोही अवधिमा निर्यात पनि ७२.७१ प्रतिशतले बढेको छ । विभागका अनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।