काठमाडौंमा बस दुर्घटना हुँदा आठवटा सवारीसाधनमा क्षति

राष्ट्रपाटी न्युज

जेष्ठ ७, २०८२

काठमाडौँ । काठमाडौंको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ।

आज बुधबार बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका–८ पिङ्लास्थान नजिक सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठ वटा सवारीसाधनमा क्षति भएको काठमाडौँ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार उक्त दुर्घटनामा बाबा गोकर्णेश्वर यातायातको बससहित एउटा हायस, तीन वटा कार, दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ।

उक्त दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौँको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट तादी गाउँपालिका–२ घर भई टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका बोहराले उल्लेख गरे।

अनियन्त्रित भएर पल्टिएको बा ५ ख ६७३५ नम्बरको सार्वजनिक बसका चालक भने फरार भएकाले निजको खोजी जारी रहेको बताउँदै प्रहरी उपरीक्षक बोहराले घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको जानकारी दिए।


Published :जेष्ठ ७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media