पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार अनुसन्धान गर्न लेखा समितिको निर्देशन

राष्ट्रपाटी न्युज

जेष्ठ ७, २०८२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई लेखेर पठाउने निर्णय गरेको हो । उपसमितिको प्रतिवेदनसहित अख्तियारलाई कारबाहीका लागि निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताए ।

त्यसअघि बैठकमा बोल्दै समितिका सदस्य तथा उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइकाओले ‘फोरडी क्याटोगोरी’को भनेको र एयर थाईले परीक्षण उडान समेत गरेको उल्लेख गर्दै उपसमितिको प्रतिवेदनले फोरडीमै प्रश्न उठाएको बताए ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रकरणबाटै भ्रष्टाचार भएको दाबी गरे ।

राप्रपा अध्यक्ष लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेर प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो । उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।


Published :जेष्ठ ७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media