नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

राष्ट्रपाटी न्युज

जेष्ठ २७, २०८२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तरराष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ।

मंगलबार जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा दुई देशबीच श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमति भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको हो।

मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए। नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ।

‘साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ। यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ’, मन्त्री भण्डारीले भने, ‘साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो। हालको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने गरी टुंगो लगाएको छ।’

उनले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको साउदी पक्षलाई जानकारी गराए। मन्त्री भण्डारीले यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिए।


Published :जेष्ठ २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media