दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको संख्या ८६ पुग्यो

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८२

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षा पछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार उद्धारकर्ताले जनाएका छन् ।

राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नु परेको बताएका छन् ।

भारी वर्षाले पूर्वी केपमा पानी चार मिटर भन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको जनाइएको छ ।

बाढीको कारण हजारौँ घर, सडक, विद्यालय तथा स्वास्थ्य सुविधाहरू डुबेको बताइएको छ ।

बाढी र पहिरोबाट माथाथा सहर सबै भन्दा बढी प्रभावित थियो जुन रंगभेद विरोधी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाको जन्मस्थल कुनु गाउँ नजिकै छ ।

राति पानी घर भित्र पसेपछि घर भित्र फसेका शवको बरामद तथा जीवितहरूको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् ।

मृतकमध्ये कम्तीमा छ जना बालबालिका र तीन जना वयस्कहरू बाढीमा बगेको स्कुल बसमा रहेको जनाइएको छ ।

शनिबार रुखमा टाँसिएर बसेका तिन जना विद्यार्थीलाई उद्धार गरिएको र चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।

हरित जलवायु कोषका अनुसार दक्षिण अफ्रिका जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छ । (रासस)


Published :जेष्ठ ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media