राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशद्वय ऋषि राज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

सूचना अधिकारी पार्वती हितानका अनुसार, अदालतले पाण्डेलाई गरिएको निलम्बन कार्यान्वयन नगर्न महानगरलाई निर्देशन दिएको छ ।

जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । सो निर्णयअघि पाण्डेसँग स्पष्टीकरण सोधपुछ गरिएको थियो । गुरागाईंले पाण्डेले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै निलम्बन गरेका थिए ।

निलम्बन निर्णयविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । अदालतको प्रारम्भिक आदेशले उक्त कारबाही तत्काल लागू नहुने भएको छ ।


Published :असार ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media